Acts 28

1हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौँ । 2ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे ।

3तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर उनको हातमा बेरियो । 4जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन ।

5तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् । 6तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्‍वर रहेछन् भने ।

7त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए । 8पब्लियसका बुबा ज्‍वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे । 9यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए । 10ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।

11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो । 12साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।

13हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ। 14त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ । 15हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।

16जब हामी रोममा प्रवेश गर्‍यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो । 17तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ । 18तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।

19तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो थिएन । 20तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ । इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु ।

21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे । 22तर हामीले यस पन्थको बारेमा के विचार गर्नुहुन्छ भन्‍ने कुरा तपाईंबाट सुन्‍न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ ।

23जब उनीहरूले उनको निम्ति एक दिन तोकिदिए, तब उनको बासस्थानमा धेरै मानिसहरू आए । उनले त्यस विषयलाई उनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । उनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा र अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे । 24कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।

25जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो । 26उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ ।

27किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् । तिनीहरूको कानले मुश्किलसाथ सुनेका छन् । तिनीहरूले आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूको आँखा सजग हुने थिए, र तिनीहरूका कानले सुन्‍ने थिए, र तिनीहरूका हृदयले बुझ्‍ने थिए, र फर्कने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ ।’

28त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्‍नेछन् । 29(टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।

30पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे । 31उनले परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए, र ठुलो साहसका साथ प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए । कसैले पनि उनलाई रोकेन ।

Copyright information for NepULB